त्रिवेणी कपः पुलिस, सुन्दरबजार र बेंसीसहरको जित

लमजुङ — बेंसीशहरको सहजी खेलमैदानमा जारी त्रिवेणी कप फुटबल प्रतियोगिताको ३१ औं संस्करण अन्तर्गत सोमबार पहिलो खेलमा विभागीय टीम महेन्द्र पुलिस क्लबले चामे युवा समाज मनाङलाई २–० गोलले हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा चामेका तर्फबाट विदेशी खेलाडी आइकिङ बुफोले दोस्रो हाफको २ मिनेटमा आत्मघाती गोल गरे । टाउकोले ‘व्याक पास’ दिन खोज्दा बलले आफ्नै जाली चुम्यो । महेन्द्र पुलिस क्लवका प्रविन थापाले दोस्रो हाफको ३४ औं मिनेटमा गोल गरे ।

दोस्रो खेलमा सुन्दरबजार फुटवल क्लवले लमजुङ मर्स्याङ्दी युवा क्लवलाई ३–१ गोलले हराए । सुन्दरबजारका तर्फबाट एरोन थापाले दोस्रो हाफको १२, १५ र २९ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक गरे । उनी म्याद अफ दि म्याच घोषित समेत भए । मर्स्याङ्दीका तर्फबाट विदेशी खेलाडी सेर्गे सङले अतिरिक्त समयमा सान्त्वना १ गोल फर्काए ।

अन्तिम खेलमा बेंसीसहर युथ सोसाइटीले बेंसीसहर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले हराए । बेंसीसहर युथ सोसाइटीको जितमा पहिलो हाफको १२ मिनेटमा सुरेश कुमाल, १४ मिनेटमा विदेशी खेलाडी स्टेफन, २५ मिनेटमा पुनः सुरेश कुमाल साथै दोस्रो हाफको १२ मिनेटमा कान्छा गुरुङ, २१ मिनेटमा आशिष चौधरी र ३२ मिनेटमा पुनः कान्छा गुरुङले गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *