‘प्यारासाइट’का लोकप्रिय अभिनेताले मृत्यु अँगाले

parasite movie news

अस्कर पुरस्कार विजेता फिल्म ‘प्यारासाइट’ का अभिनेता ली सन–क्युनले बुधबार आत्महत्या गरेका छन् । प्रहरीले उनीमाथि लागूऔषध प्रयोगमा जबर्जस्त अनुसन्धान गरिरहेको थियो । प्रहरीको कडा व्यवहारका कारण उनी आत्महत्या गर्न बाध्य भएको भन्दै विरोध सुरु भएको छ । 

काठमाडौँ — एउटा कोरियाली उखान छ, ‘मान्छेको मन एकै घटनाले पनि बदल्न सक्छ ।’ सन् २०१९ को अस्कर पुरस्कार विजेता फिल्म ‘प्यारासाइट’ मा आफ्नो भूमिकाका लागि अन्तर्राष्ट्रिय रूपमा परिचित र प्रशंसित ४८ वर्षीय अभिनेता ली सन–क्युनको जीवनमा पनि यही भइदियो । लागूऔषध प्रयोग गरेको अभियोगमा प्रहरीले गरेको जबर्जस्त अनुसन्धानले सायद उनको मनलाई जीवनको उज्यालोबाट मृत्युको अँध्यारोतिर फर्काइदियो ।

परिणामतः यी दक्षिण कोरियाली अभिनेताले आत्महत्या गरे । हिउँ परिरहेको सोलमा बुधबार एक शान्त कारभित्र हिउँझैं जमेका लीको निष्प्राण शरीर फेला परेको के थियो, जसले संसारभर विस्मयको तरंग ल्याएको छ ।

लीमाथि चलिरहेको मुद्दाको अनुसन्धानका बीचमा भएको घटनालाई सोलवासीले प्रहरीको कडा व्यवहारलाई यसको कारण भन्दै त्यसप्रति रोष प्रकट गरेका छन् । उनको निजी एजेन्सी ‘होदु एन्ड यु इन्टरटेन्टमेन्ट’ ले दुःखद समाचारको पुष्टि गर्दै उनको निधनमा गहिरो शोक र निराशा व्यक्त गरेको छ । प्यारासाइटमा लीले प्रमुख भूमिका निभाएका छन् । चलचित्रमा उनको अभिनय सूक्ष्म, जटिल र जीवन्त छ । उनले पात्रको चरित्रमा धेरै गहिराइ ल्याउन सकेको भन्दै निकै प्रशंसा बटुलेका थिए । मानवीय संवेदनाले भरिएको लीको जादुमयी अभिनयले नै ‘प्यारासाइट’ले यस्तो महत्त्वपूर्ण र व्यावसायिक सफलता पाएको समालोचकहरूको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *